Tuesday, October 13, 2015

विजयादशमीको पहिलो दिन कलश स्थापना गरी घटस्थापना मनाइँदै

२६ असोज, जनकपुरधाम । विजयादशमीको पहिलो दिन मंगलबार घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना गरिन्छ । आजैदेखि नवरात्र आरम्भ हुन्छ ।

घटस्थापनाका दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने गरिन्छ ।
आज कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर वा पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छर्ने प्रचलन रहेको छ ।
जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको छ ।
यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ ।
कलश स्थापनाका लागि विहानको ११ बजेर १५ मिनेट देखि १२ बजेर ३ मिनेट सम्म घटस्थापना गर्दा शुभ रहने ज्योतिष पण्डित धनानन्द शर्मा घिमिरेले  जानकारी दिए ।
दशमीको आज पहिलो दिन माता शैलपुत्रीको पुजा गरिदैछ । पर्वतको राजा हिमालयको पुत्रीका रुपमा उत्पन्न भएकाले शैलपुत्रीको नामबाट चिनिन्छ । राक्षस महिँसासुरको नष्ट गरेकी माता दुर्गाको दशमीका दशैे दिन बिभिन्न ९ वटा स्वरुपको पुजा गर्ने गरिन्छ ।
आजका दिन उच्चपिठ, शक्तिपिठ तथा दुर्गा मन्दिर लगायत घर घरमा समेत बालुवामाथि जौ छर्केर कलश स्थापना गरिन्छ । आज छरिएको जौबाट उम्रेको जयन्तीलाई बिजया दशमीका दिन आशिर्बाद स्वरुप शिरमा लगाईन्छ ।
यस अवसरमा गाउँ गाउँदेखि शहरसम्म बिभिन्न ठाउँमा माता दुर्गाको माटोको प्रतिमा बनाई समेत पुजा पाठ गरिदैछ । पुजाका लागि जनकपुरको राजदेवी मन्दिर, बौद्धीमाइ मन्दिर सहित नेपाल भारतका बिभिन्न दुर्गा मन्दिरहरुमा श्रद्धालुहरुको घुँईचो लागेको छ ।

facebook Page Like

  • मनोरँजन